
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन नगर्ने बताउनुभएको छ ।
पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेदवार चयन हुने बताउनुभएको हो । उहाँले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने दाबी गर्नुभयो । यसपटक भने समयको अभावको कारण प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्न नसकिएको उहाँको भनाइ छ ।
उहाँले समयको चापको कारण उम्मेदवारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी १६५ निर्वाचन क्षेत्रमा नै त्यही क्षेत्रभित्रको उम्मेदवारी चयन गर्ने प्रक्रिया टुगिनुपर्छ भन्ने मत राख्छौँ । यसका निम्ति हामीले अहिले विधानमा संशोधन पनि गरेका छौँ । अर्को पटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन । उम्मेदवार त्यहीका पार्टी सदस्य, आम नागरिकले मतदान गरेर तलै चयन हुन्छ । तर यो पटक हामीसँग त्यो समयको सुविधा थिएन । हामीले ४ गते जम्मा यो कामको थालनी गरेका हौँ, ६ गते उम्मेदवारी दर्ताको समय थियो । अब हामी फर्केर प्राइमरी गर्छौं भन्ने अवस्था थिएन । समयको चापमा काम गर्दैगर्दा कतिपय ठाउँहरूमा हामीले चाहेको भन्दा हामीले फरक ढंगले निर्णय गर्नसक्थ्यौँ भन्ने लाग्दालाग्दै पनि सकेनौँ । हामीसँग समय भएको भए यो भन्दा समावेशी बनाउन सक्थ्यौं ।’
उहाँले विशेष महाधिवेशन आफूहरूले आफ्नो लागि नभइ नागरिकको कांग्रेस बदलिनैपर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताउनु भयो ।