
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सराहनीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरूलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानविपरित सरकारले पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरूलाई स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो ।
उहाँले घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद् पुनःस्थापना हुनेप्रति सचेत समेत गराउनु भयो । उहाँले निर्वाचनको वातवारण निर्माणको लागि सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद अगाडि बढाउनुपर्ने समेत बताउनु भयो ।