प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : निर्वाचनका लागि तत्काल शीर्ष नेताहरूसँग छलफल गर्नुस्

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : निर्वाचनका लागि तत्काल शीर्ष नेताहरूसँग छलफल गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएको छ ।

सोमबार सिंहदरवारमा प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताउनुभएको हो । उहाँले राजनीतिक दल र त्यसका नेताहरूमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्न ढिलाइ गर्न नहुने बताउनु भयो । 

उहाँले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव दिनुभयो । विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दाबी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले सरकारले निर्वाचन नभइ अन्य काममा ध्यान दिएको भन्दै आपत्ति समेत जनाउनु भयो । तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाइ थियो ।सहमहामन्त्री यादवले लोकतन्त्रमा राजनीतिक दलहरूलाई बेवास्ता गरेर कुनै पनि गतिविधि अघि बढाउन नसकिने पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.