नयाँ नेतृत्व चयनका लागि एमालेको ११औं महाधिवशेनमा आजबाट बन्द सत्र

अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल समूह केन्द्रीय सदस्यदेखि अध्यक्षसम्मै समुह बनाएर उम्मेदवारी दिने तयारीमा
मंसिर २८, २०८२ |बालकृष्ण अधिकारी
नयाँ नेतृत्व चयनका लागि एमालेको ११औं महाधिवशेनमा आजबाट बन्द सत्र

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि एमालेको ११औं महाधिवशेनमा आजबाट बन्द सत्र सुरु हुँदैछ । बन्द्र सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एमाले महाधिवेशन आयोजक समितिले जनाएको छ ।

भक्तपुरको सल्लाघारीमा हिजो महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । 

नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ ।

यसैबीच, नयाँ नेतृत्व चयनका लागि ११औं महाधिवशेनमा होमिएको एमालेभित्र अहिले दुई पक्ष चुनावी प्रतिस्पर्धामा देखिएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल समूह आआफ्ना पक्षमा प्रतिनिधि तान्न सक्रिय छन् । 

संस्थापन पक्षले ओली नभए एमाले हुँदैन र एमाले नभए देश हुँदैन भन्ने भाष्य स्थापित गर्न खोजेको देखिन्छ भने इतर पक्षले सुसुप्त रुपमा ओलीविरोधी जमात बढाउँदै लगेको छ । ओली र पोखरेल पक्ष केन्द्रीय सदस्यदेखि अध्यक्षसम्मै समुह बनाएर उम्मेदवारी दिने तयारीमा छन् । तर कुनैपनि पक्षले पदाधिकारी समुह घोषणा गरेका छैनन् ।

यसैबीच बिहानका लागि बोलाइएको महाधिवेशनको बन्दसत्र साढे १२ बजे हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बिहान केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।