
खोटाङ । एउटा प्रतिनिधि सभा सदस्य रहेको खोटाङमा ११ उम्मेदवारको जमानत जफत भएको छ ।
मुलुकमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रूद्र गिरीलगायत ११ जनाको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरका अनुसार रास्वपा उम्मेदवार गिरीलगायत राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक तामाङ, जनता समाजवादी पार्टीका राकेश राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्रबहादुर बुढाथोकी, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङ, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रयाग राई, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, मितेरी पार्टीका केसरमान चाम्लिङ र स्वतन्त्र उम्मेदवारद्वय तिलकचन्द्र राई तथा राजकुमार राईको जमानत जफत भएको हो ।
उनीहरूले खसेको सदर मतको १० प्रतिशत नल्याएकाले जमानत जफत भएको मगरले जानकारी दिनुभयाे । जमानत जफत नहुनका लागि ५ हजार ६ सय ३८ मत ल्याउनु पर्ने थियो । खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १६ हजार ६ सय १२, एमालेका देवविक्रम राईले १२ हजार ७ सय १४, कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५७, नेपाली कम्युनिष्ट पार्टीका हरि रोकाले ९ हजार ४ सय ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७ सय ४ मत ल्याउनुभएकाे थियाे ।
समानुपातिकतर्फ जिल्लामा श्रम संस्कृति पार्टी पहिलो भएको छ । सोमबार सम्पन्न मत गणनाअनुसार उक्त पार्टीले समानुपातिकतर्फ १८ हजार १ सय ३७ मत ल्याएर प्रथम भएको हो । ११ हजार ३ सय ८५ मतसहित एमाले दोस्रो भएको छ । कांग्रेसले १० हजार ७ सय ५ मत ल्याएर तेस्रो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ८ सय ७९ ल्याएर तेस्रो भएको छ भने ७ हजार २ सय ७४ मत ल्याएर नेपाली कम्युनिष्ट पार्टी पाँचौं भएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।