एमालेले कसरी गर्दैछ महाधिवेशनको तयारी ?

मंसिर २३, २०८२ |प्रकाश बम
एमालेले कसरी गर्दैछ महाधिवेशनको तयारी ?

काठमाडौं । नेकपा (एमाले)ले आसन्न ११औं महाधिवेशनको तयारी तिव्र बनाएको छ। 

यसअघिका महाधिवेशनहरूमा आन्तरिक बहस र छलफलबाहेक कार्यक्रमको व्यवस्थापकीय पाटो पनि चासोको विषय हुने गरेकोमा यसपटक महाधिवेशनमा हुने सहभागितालाई पनि चासोका साथ हेरिनेछ। जेन-जी आन्दोलनपछि एमाले नेतृत्वप्रति नागरिकमात्र होइन, पार्टीभित्रैका नेता र कार्यकर्तासमेत रूष्ट छन् भन्ने भाष्यका बीच महाधिवेशन उद्घाटनका दिन दुई लाख कार्यकर्ता भेला गर्ने एमालेले दाबी गरेको छ। एमालेले के कसरी गर्दैछ महाधिवेशनको तयारी ? 

मंसिर २७ शनिबार भक्तपुरको सल्लाघारीमा रहेको १०८ रोपनी फराकिलो चौरमा नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन हुनेछ। त्यसका लागि पार्टीका दुई लाख समर्थक उतारेर शक्ति प्रदर्शन गर्ने एमालेको तयारी छ। दुवाकोटको चाँगुनारायण मन्दिरलाई शिर मानेर भक्तपुरको पुरातात्विक वास्तुकला र आधुनिक प्रविधिको संयोजनसहित कार्यक्रमस्थलको डिजाइन हुने आयोजक समितिले जनाएको छ । 

मञ्चमा आधुनिक प्रविधिको प्रयोग गर्दै साउन्ड सिस्टम तथा वरिपरी ठूला एलइडी स्क्रिनहरू राखिने छन्। उद्घाटन कार्यक्रममा सबै राजनीतिक दल तथा नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई निम्तो दिइएको छ। भक्तपुरमा खुला सत्र सकेपछि महाधिवेशन काठमाडौं लाग्नेछ, भृकुटिमण्डपमा बन्द सत्र चल्नेछ। 

भृकुटीमण्डपमा बन्द सत्रसँगै कम्युनिष्ट पार्क, लाइब्रेरी तथा नेताहरूका कट आउट राखेर प्रदर्शन गरिने योजना रहेको पनि पार्टीले जनाएको छ । महाधिवेशनका लागि २,६१३ प्रतिनिधि आधिकारिक रूपमा चयन भएका छन् भने पार्टी एकीकरणमा सहभागी समूहहरू पनि प्रतिनिधिका रूपमा रहनेछन्। 

कार्यक्रम व्यवस्थापनका लागि १० हजार स्वयंसेवक परिचालन गरिने आयोजक सकितिले जनाएको छ । त्यसबाहेक उम्मेदवारहरूले आ-आफ्ना स्वयंसेवक पनि खटाउनेछन्। उद्घाटनको दिनबाहेक महाधिवेशनअवधिभर सहभागिका लागि भोजनको व्यवस्था गरिएको छ । 

प्रतिनिधि स्वयंसेवक र सुरक्षाकर्मी गरी ३५ सयदेखि ४ हजारजनाका लागि महाधिवेशनस्थलमै दैनिक खाजा र खाना पाक्नेछ । प्रतिनिधिका लागि यसपटक आवासको निश्चित व्यवस्था छैन, तर आवश्यक परे सम्पर्क समितिबाट समन्वय गरी समाधान हुने बताइएको छ । यातायातको व्यवस्था पनि छैन । आयोजना सहज बनाउन १३ उपसमिति गठन गरिएको छ ।

महाधिवेशन खर्च २ देखि ४ करोडसम्म पर्ने अनुमान गरिएको छ । खर्च पार्टीको लेभि, सदस्यता शुल्क, स्वेच्छिक दाता तथा सम्बद्ध संघ–संस्थामार्फत जुटाइनेछ । आयोजक समितिका सदस्यलाई ३ हजार र प्रतिनिधिलाई २ हजार शुल्क तोकिएको छ ।महाधिवेशन आयोजनाका लागि आवश्यक सबै अनुमति तथा सुरक्षा समन्वय गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र ट्राफिक कार्यालयमार्फत पूरा गरिसकिएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।