काठमाडौं । ठूला दलहरू महाधिवेशन केन्द्रित भइरहेका बेला नयाँ दलले भने निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाएका छन् ।
यसैक्रममा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा पनि सभा गरेको छ। पूर्वी नेपालमा आक्रामक रूपमा संगठन निर्माण गरिरहेको पार्टीले मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्याउने अभियानमा गोलबद्ध हुन युवाहरूलाई आग्रह समेत गरेको छ।
पूर्वी नेपालमा आक्रामक रूपमा संगठन विस्तारपछि काठमाडौं आइपुग्नुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सिफल चौरको सभामा कहिले नेताहरूप्रति आक्रोश पोख्दै त कहिले गीत गाउँदै सभाका सहभागीहरूलाई आकर्षित गर्ने प्रयास गरिरहनुभयो । र, नयाँ-पुराना सबै दलको विकल्प आफ्नो पार्टी भएको दाबी गर्नुभयो ।
अध्यक्ष राईले आफ्नो पार्टीले चुनाव जित्ने र सरकार बनाउनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । पुराना दलहरूले संगठित रूपमा भ्रष्टाचार गरेको आरोपमात्रै लगाउनु भएन, विदेशी सहायतामा भर परेको र नेपाललाई परजीवी बनाएको भन्दै आक्रोश पोख्नुभयो । आफ्नो पार्टी एक जातको र एक स्थानको भनेर आरोप लगाउनेहरूलाई जवाफ दिन काठमाडौंमा भेला आयोजना गरिएको उहाँको भनाइ थियो ।
सही दृष्टिकोण र विकासवादी नेता चुन्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको भन्दै उहाँले अब हर्कवाद नै अन्तिम विकल्प भएको जिकिर गर्नुभयो । युवा जनशक्तिलाई श्रमसँग र श्रमलाई विकाससँग जोड्ने पार्टीको विचार नै हर्कवाद भएको उहाँको तर्क छ।
पार्टीले सिफल चौरमा भेलामात्रै आयोजना गरेन, भेला राखेकै स्थानमा पार्टी सदस्यता समेत वितरण गरेको थियो । पुराना दलहरूले विकास नगरेकाले आफूहरू यो पार्टीमा आबद्ध भएको उनीहरूको प्रतिक्रिया थियो । भ्रष्टाचार नियन्त्रण, श्रम संस्कृतिलाई संस्थागत गर्ने, जेन-जी आयोग गठन गर्ने, शिक्षालाई श्रमसँग जोड्नका लागि हप्ताको तीन दिनमात्रै विद्यालय सञ्चालनलगायत एजेन्डा मन परेको सहभागीहरूको भनाइ थियो ।
२०७९ को स्थानीय तह निर्वाचनमा धरानको प्रमुखमा निर्वाचित भएपछि राई वैकल्पिक राजनीतिको चर्चामा आउनुभएको थियो । अब दल नै खोलेर अगाडि बढेपछि उहाँको प्रभाव र उपस्थिति कस्तो रहला, त्यो समयले नै बताउने छ ।