
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहर" सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताउनुभएको छ ।
शनिबार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतीलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताउनु भयो ।
राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उहाँको तर्क थियो । महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औल्याउँदै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।
उहाँले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्ने समेत बताउनु भयो । त्यस अवसरमा महासचिव पोखरेलले पार्टी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।