
रौतहट । पूर्व-पश्चिम राजमार्ग झन्डै डेढ घन्टापछि खुलेको छ ।
रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले क्षतिपूर्तिको माग राखेर शनिबार दिउँसो राजमार्ग बन्द गराएका थिए । प्रहरीमाथि पीडितका आफन्तले ढुंगामुडा गर्न थालेपछि केही बेर स्थिति तनावपूर्ण भएको थियो । चन्द्रनिगाहपुरका स्थानीयलाई समेत ढुंगा लागेको थियो । स्थानीय र प्रहरी मिलेर अवरूद्ध सडक खुलाएका हुन् ।
पीडित पक्ष र सरोकारवालाबीच क्षतिपूर्तिका लागि भएको छलफलमा सहमति जुट्न नसकेपछि प्रहरीले सडक अवरूद्ध गर्न बसेकालाई सम्झाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रूपा लाबुङमाथि नै प्रदर्शनकारीले दुर्व्यवहारको प्रयास गरेका थिए ।
कानुनी उपचार खोज्न र सहमतिमा आउन डीएसपी लाबुङले पटक-पटक अनुरोध गरे पनि उनीहरूले नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गर्न खोजेको थियो । तर प्रदर्शनमा उत्रेकाहरूले अन्धाधुन्दा ढुंगामुडा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्यो ।चन्द्रपुर नगरपालिका-६ स्थित मोथियाही पुलनजिक चपुर-गौर खण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका-२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
घटनापछि मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । पीडितले कानुनले तोकेभन्दा बढी रकम मागेपछि सहमति हुन सकेको थिएन । मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीकाअनुसार पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा, ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकोमा तथा अर्का १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ ।
प्रहरीले चन्द्रपुर-८ घर भएका बसका चालक अमृतबहादुर विकलाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले पीडित पक्षसित वार्ता गरेर बाटो खुलाउने प्रयास गरे पनि सहमति हुन नसकेको बताउनुभयाे ।