
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धुनीबेंसीमा सात सवारी साधन एकआपस ठोक्किँदा दुर्घटना भएको छ ।
अपरान्ह ४ बजेको आसपासमा पृथ्वी राजमार्गअन्तर्गत धुनीबेसीमा सात सवारी साधन एक आपस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा एक स्कुल बस, दुई सार्वजनिक यातायात, दुई ट्रक, एक भारतीय नम्बर प्लेटको गाडी र एक मोठरसाइकल एक आपसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ ।
दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ । दुर्घटनाको प्रारम्भिक अनुसम्धान भइरहेको प्रहरीले जनाएको छ ।