१५औं महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने कांग्रेसको निर्णय

पुस २० भित्र क्रियाशील सदस्यता टुंगो लगाउने निर्णय
मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
१५औं महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय भएको छ ।

पार्टी कार्यालय सानेपामा साेमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले आगामी पुस २० गतेभित्र क्रियाशील सदस्यता टुंगो लगाउने निर्णय पनि गरेको छ ।

सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र शीर्ष नेताको तीन दिनदेखि जारी छलफलमा कार्यतालिका ल्याउने सहमति भएको हो । यससँगै कांग्रेसमा डेढ महिनादेखि जारी महाधिवेशन विवाद मत्थर भएको छ । नेताहरूबीच भएको सहमतिअनुसार महाधिवेशनका लागि क्रियाशील सदस्यता, विधान मस्यौदा तथा निर्वाचन गरी तीन वटा समिति गठन गरिने नेता रमेश लेखकले जानकारी दिनुभएको छ ।

कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा केन्द्रीय कार्यसमिति बैठक पटक-पटक सर्दै आएको थियो । गत असोज २८ गतेदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.