.png&w=1000&height=550)
धनुषा । नेपाल र भारतको धार्मिक सांस्कृतिक सेतुको रूपमा रहेको १५ दिने मिथिला मध्यमिकी परिक्रमा मंगलबारदेखि विधिवतरूपमा सकिएको छ ।
मिथिला विहारी अर्थात् मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र किशोरीजी अर्थात् जगत जननी जानकीको डोलाको नेतृत्वमा नेपाल र भारतको झन्डै एक सय ३३ किलो मिटरको यात्रा पूरा गरी जनकपुरधाम फर्केका पदयात्रीहरूले प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अन्तगृह पञ्चकोशी परिक्रमा गरेपछि विधिवतरूपमा समापन्न भएको हो ।
अन्तरगृह परिक्रमा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै आफूले चिताएको कुरा प्राप्त हुने, पापबाट मुक्ति पाउने, रोग व्याधी निको हुने तथा जीवनको अन्तयमा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको छ । ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रूपमा रहेको मिथिला मध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह पञ्चकोशी परिक्रमामा धनुषा, महोत्तरी, सर्लाही, सिरहासहित भारतीय सीमावर्ती जिल्लाका लाखौं श्रद्धालुहरू सहभागी भएका छन् ।
विक्रम सम्वत १८१० मा प्रारम्भ भएको मिथिला मध्यमिकी परिक्रमामा खाली खुट्टा हिड्ने चलन छ । अन्तगृह परिक्रमा पछि श्रद्धालुहरूले जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायतका मठमन्दिरहरूमा पुजाआजा गरी आ-आफ्नो घर फर्केका छन् ।
पदयात्रीहरू घर फर्केपछि मिथिलामा होली खेल्ने चलन रहेको छ । राजा जनकलले प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चार कुनामा स्थापना गर्नुभएको जनविश्वास रहेको कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी मिथिला मध्यमिकी परिक्रमा घुम्ने गर्छन् । पदयात्राका क्रममा धनुषा र महोत्तरीको ११ र भारतीय सीमावर्ती चार स्थानमा रात्रि विश्राम गरिएको थियो ।