एमालेमा महाधिवेशन प्रतिनिधि छनोटमा तीव्र प्रतिस्पर्धा

मंसिर १०, २०८२ |दशरथ राई
एमालेमा महाधिवेशन प्रतिनिधि छनोटमा तीव्र प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटलाई लिएर देशभर तीव्र प्रतिस्पर्धा देखिएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्ने निश्चित जस्तै भएकाले प्रतिनिधि छनोटमा पनि प्रतिस्पर्धा देखिएको हो । भूगोलबाट निर्वाचित हुने ११ सय ३५ प्रतिनिधिमा आफ्ना पक्षको बहुमत पुर्‍याउन दुवै समूह सक्रिय भएका छन् । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट देशभर एकसाथ शनिबार हुँदै छ ।

नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुर" हुने ११औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट शनिबार हुने भएपछि तीव्र प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले आगामी कार्यकालको पनि नेतृत्व गर्ने चाहना राखिरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत दाबेदारी प्रस्तुत गरेपछि आ-आफ्नो पक्षका प्रतिनिधि छान्ने होडबाजी छ । 

त्यति मात्र नभएर तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवका लागि समेत नेताहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पदाधिकारीका आकांक्षीहरूले आ-आफ्नो पक्षका प्रतिनिधि छनोट गराउन सक्रिय भएकाले अधिकांश ठाउँमा प्रतिस्पर्धा हुने देखिएको हो ।

एमालेका ६ लाखभन्दा बढी संगठित सदस्यबाट २३ सय महाधिवेशन प्रतिनिधि छनोट हुने छन् । भूगोलबाट ११ सय ३५ जना प्रतिनिधि हुने छन् । १२ सय पार्टी सदस्य बराबर ४ जना प्रतिनिधि छनोट गर्नुपर्ने छ । त्यसमा एक महिला अनिवार्य गरिएको छ । तीन खुलामा एक प्रतिनिधि ४० वर्षभन्दा मुनिको हुनुपर्ने अनिवार्य गरिएको छ । 

प्रतिनिधि छनोटको मापदण्डमा थप ८ सय सदस्य संख्या थप भएपछि एक महिला अनिवार्य गरिएको छ । प्रतिनिधि छनोटको मापदण्डमा महिलासहित दलित, अपाङ्गता भएका व्यक्ति तोकेरै ल्याउनुपर्नेछ । यसपटक ४० वर्षमुनिका १ सय ७६ जना प्रतिनिधिका लाागि कोटा नै छुट्टाइएको छ । निश्चित कोटा निर्धारण भएकाले पनि महाधिवेशन प्रतिनिधि छनोटमा प्रतिस्पर्धा चर्को हुने देखिएको हो ।

११औँ महाधिवेशनमा ४ सय ६४ आयोजक कमिटीका सदस्यहरू स्वत: प्रतिनिधि हुने छन् । ७७ जिल्ला, ३२ विभाग, २३ जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । एमालेको विधानमा पाँच प्रतिशत प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ । यी सबै प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी पाँच वर्षको कार्यकालका लागि अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तब्य‘ भन्ने नारासहित एमालेको महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने छ । बन्दसत्रसहित नेतृत्व चयनको कार्यक्रम भने काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।