
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन विवाद मिलाउन नेताहरू सक्रिय भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग बिहानदेखि छलफल गरिरहेका छन्। बिहिबार हुने केन्द्रीय कार्यसमितिको बैठक अगाडि महाधिवेशनको विषयमा एक खालको समझदारी बनाएर निर्णय लिने कसरत भइरहेको छ।
तर अहिलेसम्म निर्वाचन अगाडि महाधिवेशन सुनिश्चित गराउन संस्थापन पक्षले सकिरहेको छैन। यता महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्। पुस मसान्तभित्र नियमित महाधिवेशनकै तालिका ल्याउने, तर विशेष महाधिवेशन पक्षधरहरूले गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागसम्बन्धी निवेदन फिर्ता लिनुपर्ने सर्त संस्थापन पक्षले राखिरहेको छ।
संस्थापन पक्षको उक्त सर्तलाई महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधर नेताहरूले समेत अस्वीकार गरिसकेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे सभापति देउवाले बुधबार बिहानै कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकसहित केही नेताहरूसँग छलफल गर्नुभएको छ । सभापतिसँगको छलफलपछि खड्काले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्ने तयारी गरेका छन्। बुधबार नै देउवाले संस्थापन इतर पक्षका अर्का नेता शेखर कोइरालासँग समेत संवाद गर्ने तयारी गर्नुभएङ्काे छ।
निर्वाचनअगाडि नै नियमित महाधिवेशन नगर्दा विधानतः विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता भएकाले सभापति देउवा पुस मसान्तभित्रै नियमित महाधिवेशन ल्याउन तयार हुनुभएको जनाइएको छ । तर विशेष महाधिवेशनसम्बन्धी निवेदन फिर्ता लिनुपर्ने सर्तका कारण तालिका मात्र ल्याउने, महाधिवेशन नगर्ने मनसाय भएको भन्दै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले आजै राजधानीमा भेला गर्दै छन् ।
विशेष महाधिवेशन पक्षधरका नेताहरू नियमित महाधिवेशन सम्पन्न गर्न समयको चाप परेकाले अब विशेष महाधिवेशनकै तयारीमा जानुपर्ने बताउँछन्। सिङ्गो केन्द्रीय समितिको इच्छाशक्ति भएमा पुस मसान्तभित्र छोटो प्रक्रियाबाट अझै नियमित महाधिवेशन गर्न सकिने, तर त्यसका लागि संस्थापन पक्ष तयार नदेखिएकाले विशेष महाधिवेशनमै जानुपर्ने उनीहरूको तर्क छ।
उनीहरूका अनुसार अहिलेसम्म पार्टी सभापति र कार्यवाहक सभापति दुवैले औपचारिक रूपमा विशेष महाधिवेशन पक्षधरका नेताहरूसँग औपचारिक वार्तामा बोलाएर छलफल गरेका छैनन् ।