
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले महिला तथा बालबालिकामाथि हुने अमानविय हिंसाको श्रोत विद्यमान संस्कृति र सम्पत्ति भएको बताउँदै फेकोफनले संस्कार, विचार, व्यवहार र कानुनको परिपालनाले नै हिंसा अन्त्य गर्न सकिने जनाएको छ ।
लैंङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान प्रविधिको प्रयोगबाट हुने महिला तथा बालबालिकामाथिको हिंसा न्यूनीकरणको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउँन थालिएको जनाउँदै महासंघले महिला सहभागिता, नेतृत्व विकास, आर्थिक शसक्तिकरण र संरचनात्मक परिवर्तनका लागि जनवकालत र प्राकृतिक श्रोतमा स्थानीय समूदायको अधिकार संरक्षण आवश्यक भएको पनि उल्लेख गरेको छ ।
संस्कार, संस्कृतिमा भएका कुसंस्कार, कुरिती र विचार व्यवहार परिवर्तन गर्न सबैको प्रतिबद्धता, कानुनी परिवर्तन र कार्यन्वयनको आवश्यकता औल्याउँदै फेकोफनले वर्तमान परिवेशमा प्रविधिको दुरूपयोगबाट महिला तथा बालबालिकाहरू हिंसाको शिकार बनिरहेको भन्दै चिन्तासमेत जनाएको छ ।
त्यसको न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु तथा स्वामित्वको आधारमा सामुदायिक सम्पत्ति, व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिहरूमा महिलाको समान अधिकार र पहुँच हुनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघको निष्कर्ष छ ।
सामुदायिक सम्पत्तिहरू जल, जंगल, जमिनमा महिलाको पहुँच स्थापनाको लागि वन ऐन, कानुन र नियमावलीमा महिलाको अधिकार स्थापनाको लागि महत्वपूर्ण भूमिका खेलेको तर यो अझै पूर्ण हुन नसकेको उल्लेख गर्दै महासंघले व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिमा पनि समान अधिकारको लागि अनवरत वकालत गरिरहेको जनाएको छ ।
महासंघले सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, महासंघका स्थानीयदेखि राष्ट्रिय संरचनामा आबद्ध अभियानकर्मी, नागरिक समाजलगायत सम्पूर्णमा महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसाका विरूद्धमा व्यक्तिगत र संस्थागत रूपमा प्रयास गर्न सबैमा हार्दिक आह्वानसमेत गरेको छ ।
