
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल मंसिर १२ गतेदेखि आफूहरूले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने बताउनुभएको छ ।
अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (मोवादी केन्द्र), एकिकृत समाजवादीसहितका विभिन्न कम्युनिस्ट घटक दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखि विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताउनु भयो ।
एकता सन्देश सभामा लाखौँ जनता उपस्थिति हुने उल्लेख गर्नुहुँदै उहाँले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनितिक दललाई अपील गर्ने बताउनु भयो । उहाँले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने उहाँको दाबी छ । हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरू अगाडी बढ्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले पार्टी एकता सन्देशसभा भनेर पर्सी १२ गतेदेखि धनगढीबाट सभाहरू सुरू गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतलाई अपील पनि गर्नेछौँ । राजनितिक दलहरूलाई अपील गर्नेछौँ । सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भीर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहि न कहि दबाब पनि सृष्टि गर्नेछौँ । र, देशमा अहिले देखापरेको असहज परिस्थितिलाई सहज बनाउन हामी अगाडी बढ्नेछौँ ।’
उहाँले देशभक्त वामशक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताउनु भयो । उहाँले नेपाली कम्युनिस्ट पार्टीमा युवाहरूको आकर्षण रहेको पनि दाबी गर्नुभयो ।