सिरहाको मिर्चैया बजारलाई सडक विस्तारको मार

बजारको शाख फर्काउन पहल नभएको स्थानीयको गुनासो
मंसिर २४, २०८२ |विनय आजाद
सिरहाको मिर्चैया बजारलाई सडक विस्तारको मार

सिरहा । कुनै बेला गुल्जार रहने सिरहाको मिर्चैया पछिल्ला वर्षमा व्यापारिक चहलपहल घटेसँगै सुस्ताएको छ । 

कोरोना कालपछि विस्तारै ओरालो लाग्दै गएको बजारलाई लामो समय अल्झिएको सडक विस्तारको मार समेत पर्‍यो । यस्तो पृष्ठभूमिमा मंसिर २६ गते हुनलागेको मिर्चैया उद्योग वाणिज्य संघको चुनावबाट आउने नेतृत्वले बजारलाई लयमा ल्याउन पहलकदमी लिने अपेक्षा गरिएको छ ।

सिरहाको मिर्चैया कुनै बेला जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित बजार हो । तर, अहिले मौसम जति कठ्यांग्रिदो छ, यस्तै कठ्यांग्रिदो स्थितिबाट गुज्रिरहेको छ केही वर्षयता यहाँको व्यापार । यहाँका व्यापारीका अनुसार, मिर्चैया र आसपासका बजार ओरालो लाग्नुमा मुख्यतया दुई कारण छन्- पहिलो मुख्य राजमार्ग पाँच वर्षमा पनि नबन्नु र दोस्रो कोरोना कालपछि बजारलाई लिकमा ल्याउन कतैबाट ठोस पहल नहुनु । 

अवस्था यतिसम्म विकराल छ कि साना व्यापारीहरू सटरको भाडा तिर्न नसकेर विस्थापित भइरहेका छन् । यस्तो अवस्थामा मंसिर २६ मा हुन लागेको रामनगर मिर्चैया उद्योग वाणिज्य संघको चुनावपछि आउने नयाँ नेतृत्वले बजारको अधोगतिमा प्राण सञ्चार गर्छ कि भन्ने अहिले सबैको आशा छ । तर, नयाँ निर्वाचित हुने कार्यसमिति स्वतन्त्र ढंगले व्यापारीका मुद्दामा काम गर्ने कुरामा आशंका पनि छन् । 

किनकि, कतिपय उम्मेदवार स्वतन्त्र उम्मेदवारी दिए पनि अधिकांश उम्मेदवारहरूलाई विभिन्न राजनीतिक दलले समर्थन गरेका छन् । उद्योग वाणिज्य संघको चुनावमार्फत शक्ति परीक्षण गर्ने दलहरूको दाउ छ । यसरी व्यापारिक चुनावमा राजनीतिक रंग देखिँदा व्यापारीका वास्तविक मुद्दा ओझेलमा पर्ने र राजनीतिक प्रभाव पछिसम्मै रहनसक्ने स्थानीय व्यापारीको चिन्ता छ ।

यतिमात्र होइन, उम्मेदवारहरूको चुनावी गतिविधि पनि भडि्कलो देखिएको छ । सबैको उम्मेदवारको एकैथरि दाबी छ- यहाँको व्यवसायिक विकासका लागि हाम्रो उम्मेदवारी हो । मिर्चैया बजारको पुरानो शाखलाई ब्यूँताउन र बजारलाई लयमा फर्काउन राजनीतिक आवद्धताभन्दा पनि यहाँका समस्याहरूलाई केन्द्रमा राखेर समाधान गर्नतर्फ लैजान जरुरी छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।