ताप्लेजुङ । हिउँद याम लागेसँगै जाँदा हिमाली बस्तीहरू सुनसान बन्दै गएका छन् ।
भौगोलिक हिसाबले नेपालको डोल्पा र हुम्लापछिको तेस्रो ठूलो हिमाली जिल्ला ताप्लेजुङमा पनि जाडो छल्न मानिसहरू औल झर्न थालेका छन्। ४२ सय मिटर उचाइको ताप्लेजुङकै सबैभन्दा उच्च स्थानको यो फक्ताङलुङ गाउँपालिका-७ याङमाको बस्ती हो ।
१० परिवारको मात्रै बसोबास रहेका यहाँका बासिन्दा चिसो चल्न चेने भन्ने स्थानमा झरिरहँदा यहाँबाट नजिकको ३१ सय मिटर उचाइको ओलाङचुङगोला पनि सुनसान बन्दै जान्छ । गोलाका मानिस बस्ती नै छोडेर बसाइँ सर्दैनन् तर, चिसोमा काम नहुने भएकाले व्यक्तिगत र पारिवारिक हिसाबले औल तिर झर्छन । हिमाली क्षेत्रका विद्यालयपनि फागुन सम्मकालागि बिदा हुने गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका-६ मा रहेको ३१ सय मिटर उचाइको घुन्सा र फलेको अवस्थापनि यस्तै हो । कञ्चनजंघा हिमालको आधार शिविरमा रहेको यो क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक फर्कन थालेसँगै स्थानीयले पनि गाउँ छोड्न थाल्छन् । हिउँद महिना यस्तो हुन्छ पानी पर्न छोड्छ र हिउँ झर्न थाल्छ ।
ताप्लेजुङका फक्ताङलुङ, मिक्वाखोला गाउँपालिकाका ३१ सय मिटर माथि उचाइका बस्तीका कतिपयका आंशिक र कतिपय मानिस पुर्णरूपमा न्यानोको खोजीमा औलतिर सर्ने गरेका छन् ।