
अमेरिका । अमेरिकाको न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीले नेपाली रेस्टुरेन्टमा खाना खाएको र नेपाली परिकारको बयान गरेकाे भिडियाे सामाजिक सञ्जालमा राखेपछि यतिखेर सर्वत्र चर्चा छ ।
यसले संसारभर नेपाली खाना र परिकारको चर्चा चलिरहेको छ । मम्दानीको पहिलो रोजाइमा परेको नेपाली रेस्टुरेन्ट र नेपालीहरूको व्यवसायमा पार्नसक्ने सकारात्मक प्रभावले अमेरिकामा बस्ने नेपाली समुदाय उत्साहित देखिएको छ । संसारमा कहिले नसुत्ने सहरमध्येको न्युयोर्कको क्विन्सस्थित ज्याक्सन हाइट्स क्षेत्रको ७६ स्ट्रिटमा पर्ने क्षेत्र अति नै व्यस्त हुन्छ ।
सोही व्यस्त ठाउँमा रहेको नेपाली रेस्टुरेन्ट लालिगुराँस धेरै नेपालीको रोजाइको स्थल हो । तर पछिल्लो समय न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीले खाना खाएर नेपाली परिकारको प्रशंसा गरेकाे भिडियाे सामाजिक सञ्जालमा राखेपछि लालीगुराँस रेस्टुरेन्टको चर्चा चुलिएको छ ।
त्यसो त झन्डै दुई दशकदेखि नेपाली परिकार पस्केर संसारलाई नेपाली स्वाद चखाइरहेको लालीगुराँस रेस्टुरेन्टको आकर्षण पहिलेदेखि नै छ । राजनीतिमा लाग्नुभन्दा पहिलेदेखि नै मेयर मम्दानीले लालिगुराँसलगायत नेपाली रेस्टुरेन्टमा पुगेर नेपाली परिकारको स्वाद लिने गरेको व्यवसायीहरू बताउँछन् । नेपाली समुदायसँगको हिमचिमले नै हुनुपर्छ नेपालीहरूले पनि मम्दानीको विजयमा उल्लेख्य भूमिका खेले । दक्षिण एसियाली मूलका र आप्रवासी भएका कारण मम्दानीलाई धेरै नेपालीले मन पराउँछन् ।
लामो समयदेखि नेपाली स्वाद पस्कँदै आएको लालीगुराँसले पनि बेला बेलामा परिवर्तन झेल्दै आएको छ । कहिले यसका सञ्चालक फेरिन्छन् त कहिले कामदार । तर यो रेस्टुरेन्टले नेपाली राष्ट्रिय फूलबाट राखेको लालीगुराँस नाम भने सधैं कायम राखेको छ । त्यसैले त न्युयोर्कबाहिरबाट घुम्न आउने नेपाली तथा नेपालबारे जानेका विदेशीहरूको पनि बाक्लै उपस्थिति हुने गरेको छ ।
आप्रवासीको सहर, संसारको आर्थिक राजधानी अथवा कहिल्यै नसुत्ने सहरसँगै अनेक परिचय बनाएको विश्वप्रसिद्ध न्युयोर्कको क्विन्सको ज्याक्सन हाइट्स नेपालीहरूको हब नै हो । यो क्षेत्रमा हरेक बाटो र चोकमा नेपाली रेस्टुरेन्ट भेटिन्छन् । जहाँ नेपालीलगायत अन्य मुलुकका ग्राहकको उल्लेख्य भीड लाग्दछ ।
यतिबेला संसारभरी चर्चामा रहेका जोहरान मम्दानीले नेपाली परिकारको चर्चा गरेपछि यो क्षेत्रका नेपाली व्यवसायीहरू झनै उत्साहित भएका छन् ।

