जेन–जी आन्दोलनपछि दलहरूमा विग्रह !

कार्तिक १५, २०८२ |प्रकाश बम
जेन–जी आन्दोलनपछि दलहरूमा विग्रह !

काठमाडौं । जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूमा तीव्र अस्थिरता देखिएको छ । 

पुरानादेखि नयाँ भनिएका दलहरूसम्मै सुरू भएको रूपान्तरण र पुस्तान्तरणको बहसले विवाद चर्केको मात्रै छैन, विभाजनकै शृङ्खला चलिरहेको छ । नीति तथा विचारको भिन्नताले भन्दा आन्तरिक शक्ति संघर्ष, नेतृत्व हस्तान्तरणमा आनाकानी र हानथापकै कारण दलहरू अस्तव्यस्त र छिन्नभिन्नकै अवस्थामा पुगेका हुन् ।

जेन-जी आन्दोलनपछिका घटनाक्रमले केही दलको जग नै भत्काइदिएको हो । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी विभाजित भएको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि नेता झलनाथ खनाल र महासचिव धनश्याम भुषालसहित अलग्गै दल बनाउन सक्रिय छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुनासाथ विभाजित भएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि टुटफुटकै बाटोमा पुगे । नाउपाका संस्थापक नेता रेशम चौधरीसहितले जेन-जी युवा कविर सोबलाई अध्यक्ष बनाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

सीके राउत नेतृत्वको जनमत पार्टी त झन् छिन्नभिन्न भएको छ । केन्द्रीय समितिका २० प्रतिशतभन्दा बढी सदस्यको साथ लिएर दीपक साहले नयाँ पार्टी गठन गर्नुभएको छ । वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहितका नेता रेशम चौधरीको पार्टीमा सहभागी भएका छन्।

त्यसो त विघटित प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसभित्र पार्टी महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयले गम्भीर कलह निम्तिएको हो । केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुने र विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाएको समूहले विशेष भेला नै आह्वान गरेको छ ।

नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टि तीव्र छ। अध्यक्ष केपी शर्मा ओलीको एकछत्र नेतृत्वप्रति प्रश्न उठिरहेको छ । एमालेले आगामी महाधिवेशनको मिति तोके पनि, त्यसले पार्टीभित्रको विवाद समाधान गर्छ वा विग्रहको कारण बन्छ स्पष्ट छैन । नेकपा माओवादी केन्द्रमा पनि विवाद चर्किँदै गएको छ । 

संयोजक पुष्पकमल दाहालले केही बाम पार्टीसँग एकताको निर्णय गरेपछि आन्तरिक असन्तुष्टि सतहमा आएको हो । दाहालको निर्णयप्रति नेता जनार्दन शर्मासहितका केही नेता खुला विरोधमा उत्रिएका छन् । विवाद समाधान हुन नसके माओवादीले केन्द्र फेरि विभाजनको बाटो समाउनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पुरानो विवाद झन् गहिरिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको महामन्त्री धवलशमशेर राणा पक्षले बैठकसमेत बहिष्कार गर्दै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सुमना श्रेष्ठ बाहिरिइसक्नुभएको छ । 

थुनामा रहेका पार्टी अध्यक्ष रवि लामिछानेलाई यथावत् राख्ने कि नयाँ ढंगले जाने भन्नेमा रास्वपामा विवाद र असन्तुष्टि कायमै छ । त्यस्तै, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी भित्र पनि विवाद र शक्ति संघर्ष जारी छ । नेतृत्व हस्तान्तरण, संगठन पुनर्गठन र चुनावी रणनीतिका विषयमा देखिएको मतभेदले प्राय: सबै दललाई कमजोर र विभाजित बनाइरहेको छ ।

जेन-जी आन्दोलनपछि अधिकांश दलहरू पुस्तान्तरण, रूपान्तरण र पुनर्संरचनाको चरणमा छन् । दलहरू विवाद र विभाजनमा जानुको कारण पार्टी पुनर्गठन र नयाँ राजनीतिक ध्रुवीकरणको प्रक्रिया पनि हो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।