
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेन-जी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गर्नुभएको छ ।
आइतबार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जेन-जी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरू कारणले भएको जिकिर गर्नुभयो । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? नेता किराँतीको प्रश्न छ । २० वर्षदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको उहाँकाे आराेप छ ।
उहाँले भन्नुभयो, ‘उहाँहरू जेन-जी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’
उहाँले थैली बन्दिलो नबाँध्ने र साथीलाई दोष लगाउने काम नगर्न चेतावनी दिनुभयो ।