
काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्ने विवाद सकिएको छैन । बिहीबारको केन्द्रीय समिति बैठकमा पनि केन्द्रीय सदस्यहरु यही विषयमा बिभाजित बने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका पक्षमा दबाब दिइरहँदा संस्थापन पक्षले भने चुनावकेन्द्रित हुनुपर्नेमा अडान राखिरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको वलमा बिशेष महाधिवेशनको एजेन्डालाई स्थापित गर्न खोजिरहेका छन् । तर सिंगो संस्थापन पक्ष भने चुनावमा केन्द्रित हुनुपर्ने अडानमा छ । त्यतिमात्र होइन महाधिवेशन प्रतिनिधिको समयावधि नै समाप्त भइसकेको तर्क संस्थापन पक्षको छ । महामन्त्री निकट नेताहरू भने केन्द्रीय समितिको समयावधि रहेसम्म महाधिवेशन प्रतिनिधिको पनि अवधि कायमै हुनुपर्ने तर्क गरिरहेको छ ।
संस्थापन पक्षका नेताहरूले महामन्त्रीद्वय नै विशेष कि नियमित भन्नेमा अस्पष्ट भएका कारण अन्योल झन् बढेको दाबी गरिरहेका छन् । क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी पाएका महामन्त्रीहरुले नै आफ्नो जिम्मेवारी पुरा नगरी विशेष महाधिवेशनको बखेडा झिकेको संस्थापन पक्षको आरोप छ ।
महामन्त्रीहरु ५४ प्रतिशतको हस्ताक्षरको बलमा अगाडि बढने उद्घोष गरिरहेका छन् भने संस्थापन पक्ष पनि केन्द्रीय समितिमा बहुमतको बलमा महाधिवेशन जसरी पनि चुनाव पछाडी गराउने रणनीतिअनुसार अगाडि बढिरहेको छ । संस्थापन पक्षको केन्द्रीय समितिमा ८० प्रतिशत छ । अब दुबै पक्ष बहुमतको बलमा अगाडि बढ्दा पार्टीमा आमनेसामनेको स्थिति पैदा भएको छ । यो विवादले पार्टीमा बिग्रह हुने स्थिति सिर्जना भएको छ भने संस्थापन इतर पक्षका नेता सेखर कोइरालालगायतका नेताहरु नियमित महाधिवेशन गर्न उपयुक्त हुने भनिरहेका छन् ।
विशेष महाधिवेशनसम्बन्धी विधानमा रहेको अस्पष्ट ब्यबस्था र नेताहरूका हठले कांग्रेसभित्रको विवाद यत्तिकै समाधान हुने अवस्था छैन । पार्टी भित्रका मुख्य तीन समूहका तीन थरि धारणाले कांग्रेस अलमल, विवाद र बिग्रहको चपेटामा छ ।