काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन, सुशासन र आन्दोलनमा भएको दमनको छानबिन गर्ने जिम्मेवारीप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबैलाई आग्रह पनि गर्नुभयो ।
भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको चाहना र मागप्रति सरकार सधैँ सचेत रहेको उल्लेख गर्दै निर्वाचन, सुशासन र आन्दोलनमा भएको दमनको छानबिन गर्ने जिम्मेवारीप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै कुनै पनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।