भक्तपुर । तिहार लागेसँगै भक्तपुरका बजारमा तिहारको चहलपहल बढेको छ ।
तिहारको साेमबार बिहान कुकुर पूजा गरी साँझ धनधान्यकी देवी लक्ष्मी पूजा गर्दै छन । लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा (भाईटीका)का लागि आवश्यक समाग्री किनमेल गर्न भक्तपुरका स्थानीय स्तरका बजारमा बिहानदेखि भीड लागेको छ ।
भक्तपुर नगरपालिकाको दत्तात्रय, सुकुलदोका,पसिखेल, तमाःरी, गहिःती, नासमना, बंशगोपाल, कमलविनायक तथा सुर्यविनायक चोक, मध्यपुर थिमी नगरपालिकाको बालकुमारी मन्दिर प्रंगण, हात्तिमहांकाल, बाखाबजार, शंखधरचोकलगायतका बजारमा चहलपहल बढेको हो ।
भक्तपुरको दत्तात्रयमा तिहारका लागि आवश्यक फलफूल, मखमली तथा सयपत्री माला, भाईमसला, सप्तरंगी टीका, माटो का पाला लगायतका सामग्रीहरू व्यापारीहरूले बिक्रीका लागि राखेका छन् । बिहानदेखि स्थानीयहरू तिहारको लागि आवश्यक समाग्री जोह गर्न व्यस्त बनेका छन । भक्तपुरमै नेवार समुदाय फरक-फरक समयमा म्ह पूजा र किजा पूजा (भाईटीका) मनाउने भएका छन ।
भक्तपुर नगरपालिकामा तलेजुका पुजारीहरूको निर्णयअनुसार साेमबार लक्ष्मी पूजा, भोलि म्ह पूजा र ५ गते किजा पूजा (भाईटीक) लगाइ मनाउने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । यस्तै मध्यपुर थिमी नगरपालिकामा भने भोलि लक्ष्मी पूजा, ५ गते म्हःपूजा र ६ गते किजा पूजा (भाईटीका) लगाउने मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।