प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनसाय नै छैन : ओली

मंसिर ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनसाय नै छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनसाय समेत नरहेको दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताउनु भयो । 

उहाँले १ सय २५ वटा पार्टीहरूसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले कांग्रेस, एमालेजस्ता पार्टीहरूलाई अपमान गरेको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो,‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाईं यतिबेला निर्वाचन गराउनु हुन्छ भने खुरूखुरू गराउनुस् । शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस् । अपराधीहरूलाई नियन्त्रणमा ल्याउनुस् । निर्वाचनयोग्य वातावरण बनाउनुस् । धेरै व्याख्या गर्न चाहन्न । गराउनुस् । त्यो तपाईंले सक्नु हुन्न । तपाईंको त्यो मनसाय पनि देखिँदैन । तपाईंले गरेको वार्ता कस्ता छन ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले, कांग्रेस जस्ता पार्टीहरूलाई अपमान गरेको हो यो १२५ वटा पार्टीहरूसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरूलाई मान्य नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.