काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी राख्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले जेन-जीका प्रतिनिधिसहितको अनौपचारिक कार्यदल नै बनाएर मन्त्री छनोट गर्न लाग्नुभएको हो । प्रधानमन्त्री कार्कीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन जना मन्त्री र मुख्यसचिवसँग छलफल गर्नुभएको छ । अहिले मन्त्रिपरिषद् चार सदस्यीय छ ।
बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ । बाँकी ७ जना मन्त्री नियुक्त गर्न प्रधानमन्त्री कार्कीले अनौपचारिकरुपमा जेन-जीका प्रतिनिधिसहितको शक्तिशाली अनौपचारिक कार्यदल गठन गरेर काम गरिरहनुभएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
कार्यदलमा रहेका प्रतिनिधिको नाम भने गोप्य राखिएको छ । कार्यदलले दिएको सुझावअनुसार मन्त्री चयन गर्ने तयारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दलमा आवद्ध नभएका र समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउन चाहनुभएको छ ।
उहाँले तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी प्रमुख वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुर रूइतसँग पनि अहिलेको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्नुभएको छ । तर रूइतले आफू सामाजिक सेवामै सक्रिय हुने बताइसक्नुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री कार्कीका सहयोगीहरूले संविधानविद् भीमार्जुन आचार्य र शिक्षाविद् केदारभक्त माथेमासँग पनि मन्त्रिपरिषद्मा सहभागी हुन छलफल गरेका छन् । कान्तिपुर टेलिभिजनसँगको कुरा गर्दै संविधानविद् आचार्य र शिक्षाविद् माथेमाले आफूहरू मन्त्री बन्न इच्छुक नभएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले जेन-जीका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा सहभागी गराउन चाहनु भएको छ । तर जेन-जीका प्रतिनिधिहरूले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंगो लगाउन सकेका छैनन् ।
अब अनौपचारिक कार्यदलले समाजका प्रतिष्ठित व्यक्तिहरूसँग छलफल गरी मन्त्रिपरिषद्मा सहभागीहरूको नाम टुंगो लगाउने छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि निर्वाचन, भ्रष्टाचार छानबिन, पुनर्निर्माण र सेवाप्रवाहमा सरकार केन्द्रित हुने छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पाएको कार्की नेतृत्वको सरकारलाई भ्रष्टाचार छानबिन, जनताको चाहनाअनुसार सेवा प्रवाहमा सुधार गर्नुपर्ने जिम्मेवारी पनि छ ।
त्यसका लागि पनि सकेसम्म चाँडै सरकारलाई पूर्णता दिनुपर्ने हुन्छ । गत शुक्रबार राती प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले आइतबार तीन जना मन्त्री छान्नुभएको थियो ।