काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टहरू संघीयताको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रबार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताउनु भयो । नेपाली कांग्रेस र कम्युनिष्टको कारणनै संघीयता संकटमा रहेको उहाँको आरोप छ ।
कहिले पनि कांग्रेस संघीयताको पक्षमा नरहेको उहाँले आरोप लगाउनु भयो । नेपालमा वास्तविक कम्युनिष्टहरू नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप लगाउनु भयो ।
अध्यक्ष यादवले प्रदेश सरकारको अधिकार, कानून केही नरहेको भन्दै यस्तो सरकार हुन नसक्ने बताउनु भयो ।