काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताउनुभएको छ ।
पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरुले संगठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिनुभयो । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उहाँले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाई गर्दै आएको दाबी पनि गर्नुभएको उहाँले बताउनु भयो ।
प्रचार विभाग प्रमुख गौतमकाअनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाईमा पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहोर्याउनु भएको थियो ।