काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । जेन–जीले आज काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दैछन् । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार एवं नेपो बेबी भन्दै शुरु भएको डिजिटल विरोधलाई समर्थन गर्दै थप प्रदर्शनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हिजो साँझसम्ममा आधा दर्जन समूहले निवेदन पेश गरेका छन् । ती पत्रमा युवाहरुको भ्रष्टाचार विरुद्धको कार्यक्रम उल्लेख गरेका छन्।
टिकटकमा सडक प्रदर्शनमा उत्रिनका लागि भइरहेको आह्वान र अन्य भिडियोहरु ट्रेन्डिङ् भएपछि सुरक्षा निकायले निगरानी बढाएको छ । अप्रिय घटना हुन नदिन प्रहरीले आह्वान समेत गरेको छ।
सामाजिक सञ्जालमा भने हिंसालाई प्रेरित गर्ने किसिमका सामग्रीहरु प्रसार भएको देखिएका छन्। प्रहरीले ती सामग्रीको सुक्ष्म अध्ययन गरिरहेको जनाए पनि कान्तिपुरसँगको कुराकानीमा यसबारे औपचारिक प्रतिक्रिया दिन भने मानेन। असंगठित युवाहरुका फरकफरक समूहले आह्वान गरेको आन्दोलन सडकमा पुग्दा राजनीतिक स्वार्थ भएका समूह वा दलले फाइदा उठाउन सक्ने हुँदा शतर्क हुनुपर्ने युवा अभियन्ताको सुझाव छ । जेन जी पुस्ताको नाममा सामाजिक सञ्जाल रेडिट र टिकटकमा सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारबारे तिव्र बहस चल्दा सरकारले बन्द गर्ने भनेको सञ्जाल एक्समा समेत यसबारे बहस चुलिएको छ।
युवाहरुको अभियानलाई दलसम्बद्ध केहि नेता, सोसल मिडिया इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरुले प्रचार गरिरहेका छन् । सञ्जालमा अभियान चलाइरहेको विभिन्न समूहले प्रशासनमा पत्र लेख्दै प्रदर्शन स्थलका लागि अनुमति मात्र मागेका छैनन्, आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सहयोग पनि मागेका छन्।
यसैबीच, सामाजिक सञ्जाल बन्दविरुद्ध लगिएका १० वटा रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।