कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : महामन्त्री थापा

भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली कांग्रेसले देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको उहाँको भनाइ छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरू पनि बढेको उल्लेख गर्नुहुँदै उहाँले जुन स्वभाविक भएको बताउनु भयो । 

नेपालबाट धेरै युवाहरू रोजगारीको लागि विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख वचत गर्ने उल्लेख गर्नुहुँदै उहाँले नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भयो । 

हाल ५० हजार भन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उहाँको भनाइ छ । नेपालका युवाहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न कांगेस लाग्नुपर्ने उहाँको भनाइ छ । 

कांग्रेसका लागि सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण कुरा हुनुपर्ने उहाँले बताउनु भयो । उहाँले कांग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

विपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्नुहुँदै उहाँले आजको कांग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.