'ए' डिभिजन लिग नहुँदा खेलाडी उत्पादनमा असर परेको कप्तान किरण चेम्जोङको गुनासो

नयाँ रंगशालामा आप्नै पुस्ताले खेल्न पाउनेमा संयश व्यक्त
भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
'ए' डिभिजन लिग नहुँदा खेलाडी उत्पादनमा असर परेको कप्तान किरण चेम्जोङको गुनासो

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टिमका कप्तान किरण चेम्जोङले सहिद स्मारक 'ए' डिभिजन लिग नहुँदाको प्रत्यक्ष असर खेलाडी उत्पादनमा परेको बताएका छन् ।

बंगलादेशविरूद्धको दुई मैत्रीपूर्ण खेलअघि शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै गोलकिपर चेम्जोङले खेलाडी स्काउट गर्न नसकिएको र त्यसले राष्ट्रिय टिम कमजोर भएको प्रतिक्रिया दिएका हुन् । 

शीर्ष डिभिजनको लिग नभएको आज ८ सय १९ दिन पुरा भएको छ । लिग नहुँदा राष्ट्रिय टिममा स्तरीय खेलाडी आपूर्ति प्रभावित भएको किरणको भनाइ थियो । २०७९-८० को सिजनपछि लिग रोकिँदा अहिले कप्तान किरणसँगै ९ नेपाली खेलाडी बंगलादेशको शीर्ष डिभिजनको लिगमा अनुबन्धन भएका छन् ।

अखिल नेपाल फुटवल संघ एन्फाले २०८२ पुस ९ गतेदेखि होम एन्ड अवे लिग सुरू गर्ने प्रस्ताव राखेको छ । तर अन्तिम टुंगो भदौ ३१ गतेको कार्य समिति बैठकपछि मात्र लाग्ने बताइएको छ । 

यस्तै कप्तान किरणले एएफसी एसियन कप छनोटअन्तर्गतका खेल घरेलु मैदानमा खेल्न नपाउनु दु:खद भएको पनि उल्लेख गरे । उनले आफ्नै पुस्ताले नयाँ रंगशालामा खेल्ने विश्वास नरहेको बताए ।

फिफा विन्डोअन्तर्गतको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल घरेलु मैदानमा हुने भए पनि एएफसीले दशरथ रंगशालाई अयोग्य ठहर्‍याएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.