विधान महाधिवेशनमा निषेधमा परेपछि एमाले कार्यकर्तालाई पूर्वउपाध्यक्ष भण्डारीको चिठ्ठी, साथ दिन आग्रह

सदस्यता नवीकरण गर्न सल्लाह दिनेले नै घोचपेच थालेको आरोप/
भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
विधान महाधिवेशनमा निषेधमा परेपछि एमाले कार्यकर्तालाई पूर्वउपाध्यक्ष भण्डारीको चिठ्ठी, साथ दिन आग्रह

काठमाडौं । नेकपा एमालेले पार्टी प्रवेशमै निषेध गरेर विधान महाधिवेशनमा सहभागी हुन नदिएपछि पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले प्रतिनिधिहरुको साथ माग्नु भएको छ । 

गोदावरीको सम्मेलनकेन्द्र जान नपाएपछि उहाँले विगतमा नेकपा एमालेको काममा सँगै हिँडेको स्मरण गर्दै अहिले भेट गर्न नपाए पनि उद्देश्य एउटै भएको बताउनुभएको छ ।

एमालेले विद्यालाई पार्टीमा आउनै नदिने गरी विधान बनाउने तयारी गरिरहँदा पूर्वराष्ट्रपतिले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र पठाएर आफूले नेतृत्वकै सल्लाहमा सदस्यता नविकरण गरेको बताउनुभएको छ । 

जसले सदस्यता नविकरण गर्न सल्लाह दिए तिनैले घोचपेच गर्न थालेको उहाँको आरोप छ । प्रतिनिधिहरूलाई शुभकामना सन्देश मार्फत पनि पूर्वराष्ट्रपति भण्डारीले एमालेको काँधमा देश विकास गर्ने जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रूपमा एकसाथ भएर अघि बढ्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।

पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि उहाँले विधान महाधिवेशनमा उपस्थित पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गर्नुभएको छ ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । हिजोको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपतिको सदस्यता नविकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा पनि बन्न नसक्ने निष्कर्ष निकालेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.