नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि, नेपाललाई जितको भोक

खेल कठिन हुने बंगलादेशका प्रशिक्षक काबरेराको भनाइ
भाद्र २०, २०८२ |खेल ब्युरो
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि, नेपाललाई जितको भोक

काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेल जित्ने भोक रहेको बताएका छन् । 

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार हुँदैछ । शुक्रबार भएको प्रि-म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक रसले एसियन कप छनोटअन्तर्गत लाओससँग अपेक्षा गरेअनुसारको नतिजा नआएकाले बंगलादेशसँगको खेलमा आफूलाई प्रस्तुत गर्न खेलाडी तयार रहेको बताए । 

बंगलादेशका मुख्य प्रशिक्षक ह्याभिर काबरेराले नेपालसँगको खेल कठिन हुने बताए । नेपाल र बंगलादेशको फुटबल अहिले एउटै स्तरमा रहेको उनको भनाइ छ ।नेपाली टिमका कप्तान किरण चेम्जोङले आफू बंगलादेशमा भए पनि निरन्तर प्रशिक्षकको सम्पर्कमा रहेको बताए । 

बंगलादेश कप्तान जमाल भुयानले अक्टोबरमा हुने एसियन कप छनोटका लागि नेपालसँगको खेल महत्वपूर्ण रहेको जनाएका छन् । बंगलादेशको टिममा स्टार खेलाडी हम्जा चौधरी भने छैनन् । 

उनलाई केही समस्या रहेको र अक्टोबरमा हुने एसियन कप छनोट खेलका लागि आराम दिइएको प्रशिक्षक ह्याभिरले बताएका छन् । नेपालको पुरुष टिमले २१ महिनापछि दशरथ रंगशालामा खेल्दैछ । 

पछिल्लो पटक २०८० मंसिर ५ गते फिफा विश्वकप र एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग खेलेको थियो । सो खेलमा यमनले नेपाललाई २-० गोलले पराजित गरेको थियो । 

यस्तै नेपालले बंगलादेशसँग दशरथ रंगशालामै २०७९ साल असोज ११ गते मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपाललले ३-१ गोलको जित हात पारेको थियो । नेपाल र बंगलादेशबीचको खेल साँझ साढे ५ बजे सुरू हुनेछ ।