काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि औपचारिक रूपमा सुरू भएको छ ।
यसपटकको ट्रफी टुर विशेष रूपमा जलवायु परिवर्तन र ग्लोबल वार्मिङबाट परिरहेको असरबारे जनचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिन लागेको हो ।
ट्रफी टुर बिराटनगर किंग्स रहेको कोशी प्रदेशबाट सुरू हुने छ । टुर क्रमशः मधेस, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत हुँदै सुदूरपश्चिम पुगेर सम्पन्न हुनेछ ।
यस अभियानमार्फत वातावरणीय सचेतना र क्रिकेटको प्रचारलाई एकसाथ अघि बढाउने उद्देश्य राखिएको क्यानले जनाएको छ । जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगिरहेको नेपालमा खेलकुदमार्फत जनस्तरसम्म सन्देश पुर्याउने उद्देश्यले ट्रफी टुरलाई विशेष महत्व दिइएको हो ।
यस अभियानले खेलप्रेमी र आम नागरिकहरूलाई जलवायु परिवर्तनबारे सचेत गराइने क्यानले जनाएको छ । एनपीएलको दोस्रो संस्करण यही मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।
यस पटकको एनपीएलका खेलहरू कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा ओपन प्यारपीट सहित प्ललाइटमा राति पनि सञ्चालन हुने छन् । क्यान र फ्रेन्चाइज टोलीहरूले दोस्रो संस्करणका लागि आवश्यक तयारीहरू तीव्र गतिमा अगाडि बढाएका छन् ।
गत साउन २४ गते प्रतियोगिताको मीनी अक्सन समेत सम्पन्न हुँदा सहभागी आठ वटै फ्रेन्चाइज टिमहरू अहिले विदेशी खेलाडी हस्ताक्षर गर्न व्यस्त छन् । क्यानले प्रतियोगिताको खेल तालिका केही दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।
गत सिजन सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो ।