फिफा फुटबल फर स्कुल्स कार्यक्रम मकवानपुरमा पनि सुरू

६ लाख विद्यार्थीको खुट्टामा बल पुर्‍याउने लक्ष्य
भाद्र २०, २०८२ |खेल ब्युरो
फिफा फुटबल फर स्कुल्स कार्यक्रम मकवानपुरमा पनि सुरू

काठमाडौं । ६ लाख विद्यार्थीको खुट्टामा बल पुर्‍याउने लक्ष्यसहित सञ्चालित फिफा फुटबल फर स्कुल्स कार्यक्रम मकवानपुरमा पनि सुरू भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रमअन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको आयोजनमा हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभयो । 

फिफा र युनेस्कोको सहयोगमा सञ्चालित कार्यक्रमले विश्वभरका ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिका माझ फुटबल पुर्‍याउने लक्ष्य राखिएको छ । यो कार्यक्रम नेपालको ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा लागू हुने एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो । 

यसकार्यक्रमअन्तर्गत कुल ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा २२ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

यसैगरी मुख्यमन्त्री बानियाँले खेलकुदको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गौरीटार रंगशालालाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । 

फुटबल अब राष्ट्र र स्वास्थ्यका साथै शिक्षासँग पनि जोडिएको भन्दै मुख्यमन्त्री बानियाँले विद्यालयका विद्यार्थीलाई फुटबलसँग जोड्न एन्फाले गरेको प्रयास सराहनीय भएको उल्लेख गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालित यो कार्यक्रमले सबै वर्ग, जाति र भूगोलका बालबालिकालाई फुटबलमार्फत् रमाइलो र व्यवहारिक सिकाइ प्रदान गर्नेछ ।