एमाले विधान महाधिवेशन : प्रतिवेदनलाई अन्तिम रुप दिन छलफल जारी

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले विधान महाधिवेशन : प्रतिवेदनलाई अन्तिम रुप दिन छलफल जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा जारी छ । विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा बैठकमा छलफल भइरहेको छ । एमालेको विधान महाधिवेशन शुक्रबार सुरु हुँदै छ ।

सचिवालय बैठकले विधान महाधिवेशनमा प्रस्तुत् हुने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्नेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले सांगठनिक र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुहुने छ । तीन वटै प्रतिवेदन अध्ययन गर्न सचिवालयका सदस्यहरुलाई यसअघि नै वितरण गरिएको थियो ।

अध्यक्ष ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदनमा समाजवादको आधारमा पार्टीको कार्यनीति तयार गर्ने उल्लेख छ । प्रतिवेदनमा कांग्रेस मुख्यप्रतिद्वन्द्वी भए पनि सत्ता सहकार्य कायम राख्दै अघि बढ्नुपर्ने भनिएको छ । यसैगरी अध्यक्ष ओलीले प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई उग्रवामपन्थी र अराजकता विचारबाट प्रभावित भएको दाबी गर्नुभएको छ । उहाँले नेकपा विभाजन हुनुको दोष माओवादी केन्द्रमाथि नै लगाउनुभएको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष हटाएर पहिलो वरियताको उपाध्यक्ष राखिएको छ । पार्टीको सिफारिशमा राजीनामा दिएर राष्ट्रपति वा उपराष्ट्रपति बनेका नेतालाई सक्रिय राजनीतिमा फर्कन नहुने व्यवस्था विधान संशोधन प्रस्तावमा छ ।

यता उपाध्यक्ष पौडेलले तयार पारेको विधान संशोधन प्रतिवेदनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा छुटै प्रतिवेदन पेस गर्ने तयारी गर्नुभएको छ । पोखरेललको प्रतिवेदनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन कानुन र पार्टी विधानले नरोकेको भन्दै खुला गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी स्थायी समिति सदस्य कर्ण थापाले पनि बैठकमा फरक दस्तावेज पेस गर्नु हुने भएको छ ।

विधान संशोधन प्रस्तावमा अध्यक्षसहित १५ पदाधिकारी रहने ब्यवस्था छ । यस्तै केन्द्रीय कमिटीको संख्या २ सय ५१ कायम गर्ने उल्लेख छ । पार्टी जिल्ला अध्यक्षलाई कार्यकारीको अधिकार दिइएको छ । पार्टी अध्यक्षको भूमिका बलियो बनाउने प्रस्ताव गरिएको छ ।

भोलि सुरु हुने एमालेको विधान महाधिवेशनमा २ हजार ३३ जना महाधिवेशन प्रतिनिधि र अन्य गरी २ हजार ३ सय ५० जना सहभागी हुने एमालेले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.