काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको बताउँदै त्यसलाई नियन्त्रण नगरेसम्म असमानता र अविश्वास बढ्दै जाने चेतावनी दिनुभयो ।
वडा अध्यक्षका उम्मेदवारले मात्रै डेढ करोड रूपैयाँ खर्च गर्नुपर्ने अवस्था अवस्था रहेको उल्लेख गर्दै उहाँले खर्चिलो निर्वाचन प्रणाली कायमै रहे व्यवसायी र उद्योगी मात्र उम्मेदवार हुने अवस्था आउनसक्ने भन्दै सबै राजनीतिक दलहरू सजक हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले निर्वाचन प्रणालीलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र र लिङ्गीय समावेशितासहित पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वित्तीय क्षेत्रमा समेत असमानता देखिन थालेको भन्दै संविधान संशोधनमार्फत स्थायित्व कायम गर्न आवश्यक रहेको बताउनु भयो ।
पूर्ण समानुपाति निर्वाचन प्रणाली बनाएर राजनीतिक दलले एकल बहुमतको सरकार चलाउन सक्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।