
बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिनुभएको छ। बानियाँले मङ्गलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँलाई संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम मङ्गलबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री बानियँसँगै ८ जना मन्त्रीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । कांग्रेसबाट २ र एमालेबाट ६ जना मन्त्रीले सपथ लिएका हुन् । कांग्रेसबाट कृष्णकुमार तामाङ र शिवराध अधिकारी मन्त्री बन्नुभएको हो ।
अधिकारीको भने मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । त्यस्तै एमालेबाट मधुसुधन पौडेल, किरण थापामगर, जयराम थापा, डाक्टर दिनेशचन्द्र देवकोटा, बिन्दू श्रेष्ठ र भरतबहादुर केसी मन्त्री बन्नुभएको छ ।
मुख्यमन्त्री बनियाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन छ । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुरका बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बन्नुभएको छ ।
यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसक्नुभएको छ। पेसाले निर्माण व्यवसायी बानियाँ २०७३ सालमा केन्द्र सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्नुभएको थियो ।