मकवानपुर । मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएसँगै बागमती प्रदेश सरकारको भविष्य थप अन्योलमा परेको छ । बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदैछ ।
नयाँ संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन भएको छ । बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनुभएको छ । त्यसअघि मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन राखिएको अविश्वासको प्रस्ताव पारित भएको थियो ।
लामाको पक्षमा १५ मत रहॅंदा उहाँको विपक्षमा २२ मत पर्यो । लामा संसदीय दलको नेताबाट पदमुक्त भएसँगै नयाँ नेता चयनका लागि निर्वाचन समिति गठन भएको हो । संसदीय दलको नेताबाट पदमुक्त भएका लामाले आफूले मुख्यमन्त्रीबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ ।
लामालाई पदबाट हटाउन २१ जना सांसदको हस्ताक्षरसहित आइतबार नेपाली कांग्रेस संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।