‘राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रूपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन मिल्दैन’

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रूपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन मिल्दैन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीचको अन्तरलाई बुझ्न सक्नुपर्ने बताउनुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नका लागि केन्द्रीय कमिटीको बैठकले रोकेसँगै सञ्चारकर्मीहरूसँग बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आययोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बतउनुभएको हो । 

उहाँले सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने तर राष्ट्रपति किन नमिल्ने भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उहाँले संविधानले सभामुख संसद्को सदस्य नै रहनुपर्ने व्यवस्था गरेको तर राष्ट्रपतिले सबै आवद्धता त्याग गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । 

सभामुख आफैँमा राजनीतिक जिम्मेवारी भएको उहाँले बताउनु भयो । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेको थियो । राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेको निष्कर्ष छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपति र सभामुखका बीचको अन्तरलाई हामीले बुझ्नुपर्दछ । सम्माननीय राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सम्पूर्ण प्रकारका राजनीतिक भुमिकाबाट अलग हुने व्यवस्था संविधानले गरेको छ । कुनै प्रकारको राजनीतिक नियुक्तिमा छ भने उसले राजीनामा दिएर जानुपर्छ । सभामुखको हकमा भन्ने हो भने सभामुख आफैँमा राजनीतिक जिम्मेवारी हो । सांसदको सदस्य रहेन भने उ सभामुखबाट अलग हुन्छ । दुवैले दलीय भुमिका परित्याग गरेको हुनाले एउटै हो भन्ने छ । तर त्यो होइन । संविधानले सभामुखका हकमा प्रतिनिधि सभाको सदस्य कायम रहने कुरा गर्दछ । राष्ट्रपतिका हकमा उ निर्वाचित भयो भने प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिनुपर्छ ।’

महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरूको साझा अभिभावक भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.