काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले नेतृत्व गरेको अलग-अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गर्नुभयो ।
बिपी कोइराला र पुुष्पलाल श्रेष्ठको सोचअनुसार उहाँहरूले अँगाल्नुभएको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले मुलुकको राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मङ्गलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गर्नुभएका उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिनेक्रममा उहँले बिपी र पुष्पलालालाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गर्नुभयो ।