काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय नभई सबैको नेता बन्न सुझाव दिएको छ । भण्डारीले नवीकरण गरेको पार्टी सदस्यता पनि स्वत: निस्कृय भएको एमालेको निष्कर्ष छ ।
पार्टी मुख्यालय च्यासलमा सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक कार्यमा सक्रिय रहन र सबैको नेता बन्न सुझाव दिएको हो ।
पार्टी राजनीति र समसामयिक राजनीतिबारे जानकारी गराउँदै महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वत: निष्क्रिय भएको पनि बताउनु भयो । महासचिव पोखरेलले भण्डारीको सदस्यता नवीकरणको विषय त्यसबेला नै पार्टीको छलफलको विषय हुनुपर्नेमा त्यसो नभएर त्रुटि भएको स्वीकार गर्नुभयो ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति पुन: पार्टी राजनीतिमा फर्किने विषय संविधानले परिकल्पना नगरेको बताउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीकै लागि विधान संशोधन गरिएको र ओलीनै निर्विकल्प नेता जसरी भाष्य खडा गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो।
महासचिव पोखरेलले विधानमा ७० वर्षीय उमेर हद र अध्यक्षमा दुइ कार्यकालको ब्यवस्था हटाइएकाले भावी पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैका लागि बाटो खुलेको बताउनुभयो ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई औपचारिकरूपमा केन्द्रीय कमिटीबाट निर्णय नै गरेर पार्टीको मूलनेतृत्वका लागि रोकेको भएपनि पार्टीलाई सहयोग पुर्याउनका लागि गतिविधि गर्ने भने पाउने महासचिव पोखरेलको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले भने एमाले केन्द्रीय कमिटीले एमालेको राजनीति गर्ने बाटो बन्द गरेको निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन । तर आफुनिकटका नेताहरूसँगको भेटघाट र छलफलमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा सक्रिय भइसकेकाले पछि नहट्ने बताइसक्नुभएको छ भने त्यो बाटो कसरी भन्ने खुलाउनुभएको छैन ।
भण्डारीले केहिदिनभित्रै पार्टीले गरेको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । भने भण्डारी निकटका नेताहरूले केन्द्रीय कमिटीले गरेको निर्णयबारे आगामि पार्टीको विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनमा तयारीमा रहेको प्रतिक्रिया दिएका छन् ।