काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बढाएको सक्रियताले अहिले राजनीति माहोल तातेको छ ।
नेता कोइराला गठबन्धन नै परिवर्तन गर्ने संकेतसहित राजनीतिक दौडधूपमा लागिरहनुभएको छ । तर यो विषयमा सभापति शेरबहादुर देउवा मौन हुनुहुन्छ । यही क्रममा निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन र भूमि व्यवस्था विधेयक तत्काल अघि बढाउन एमालेले गरेको कसरतले दुई दलबीच असमझदारी भने बढाएको छ ।
सरकारले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार काम गर्न नसकेको भन्दै आलोचनमा गरिरहेका कांग्रेस नेता शेखर कोइरालाले बढाएको दौडधुप अहिले राजनीतिक वृत्तमा चर्चा बनेको छ ।
नेता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालसम्मलाई भेटेपछि राजनीतिक उथलपुथल त हुने होइन भन्ने आशंका पनि केहीले गर्न थालेका छन् ।
भण्डारी र दाहाललाई भेटेलगत्तै कोइरालाले आफूनिकट नेताहरुको भेलासमेत गरिसक्नुभएको छ । त्यस क्रममा सरकारलाई दबाब दिन आफूनिकट मन्त्रीहरूलाई फिर्ता बोलाउनेसम्मको कुरा भएको छ ।
नेता कोइरालाको सक्रियतालाई केहीले नयाँ सत्ता समीकरणको कसरतको रूपमा समेत ब्याख्या गरेका छन् । यो विषय नेकपा एमालेको पोलिटब्यूरो बैठकमा समेत प्रवेश पायो ।
नेपाली कांग्रेसमा त झन् तरंग नै पैदा गरेको छ । नेता कोइराला सरकारले ल्याएको बजेट, निजामती विधेयकबाट कुलिङ अफ पिरियड हटाउने प्रयास, भूमिसम्बन्धी विधयेकमा एमालेले देखाएको चासोदेखि घुस प्रकरणमा मन्त्रीको नै संलग्नतासम्मका विषयलाई लिएर असन्तुष्ट हुनुहुन्छ ।
त्यसो त कोइरालाको सक्रियता र वैकल्पिक सरकार गठनको गृहकार्यका विषयमा चलेको चर्चाकै बीच कांग्रेसको संस्थापन पक्षकै ७ पूर्वपदाधिकारीको पनि दौडधूप बढेको छ ।
कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा बसेका ७ जना नेताले यही गठबन्धनलाई २०८४ सम्म लानुपर्ने निष्कर्ष निकाले । बरू संविधान संशोधनलगायत कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्ने निधो गरे ।
कांग्रेसका पूर्वपदाधिकारीको यो समूहले मंगलबार सभापति देउवासँग भेटघाटसमेत गरिसकेको छ । तर सभापति देउवा पार्टीका नेताहरूको अस्वाभाविक दौडधूपका विषयमा चुपचाप हुनुहुन्छ ।
देउवा निकट नेताहरू अहिले गठबन्धन र पार्टी संसदीय दलको नेता परिवर्तनको कुनै सम्भावना नरहेको दाबी गर्छन् । नेता कोइरालाको सक्रियतालाई महाधिवेशन लक्षित र सामान्य भएको उनीहरू बताउँछन् ।
कांग्रेस–एमाले गठबन्धन परिवर्तन गर्न कोइरालालाई सहज छैन । संसदीय दलमा सम्मानजनक अवस्था रहे दलको नेता नै परिवर्तन गर्न कोइरालासँग अंकगणित पुर्याउन सक्ने अवस्था पनि देखिँदैन ।
कोइराला पक्षले आफूहरूसँग कम्तिमा ३२ सांसद रहेको दाबी गरेको छ । महामन्त्री गगन थापाले दलको नेतामा प्रतिस्पर्धा गर्दा २५ मत मात्रै पाउनुभएको थियो । अझ अहिले त नेता कोइराला र महामन्त्री थापाबीच दूरी बढेको छ ।
त्यसकारण अहिले कांग्रेस देउवाको निर्णयभन्दा बाहिर जाने स्थितिमा छैन । तर कुलिङ अफ पिरियड नराख्ने गरी एमालेका ५ सांसदले राखेको संशोधन प्रस्ताव र भूमि विधेयकको विषयलाई लिएर दुई दलबीच असमझदारी भने बढ्दो छ ।