काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनमा बोल्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशलाई रोक्नुपर्ने धारणा राखेका छन् ।
ललितपुरको च्यासलमा दुई दिनदेखि जारी एमाले केन्द्रीय कमिटीमा बोल्ने अध्यक्ष ओलीपक्षका अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काउन नहुने धारणा राखेका छन् ।
पूर्वराष्ट्रपतिलाई संविधानले नै मुलुकको साझा ब्यक्तिकोरूपमा संरक्षकका रूपमा लिएको, गणतन्त्रको प्रतिक र सेनाका परमाधिपति भएकाले पनि मुलुकको संरक्षककोरूपमा सम्मानित भएर बस्नुपर्ने अधिकांश नेताहरूको धारणा छ ।
पूर्वराष्ट्रपतिको पद साझा भएकाले पनि पार्टीले उपयुक्त समयमा राजनीतिक निर्णय गरेर अघि बढ्ने गौतमले बताउनुभयो ।
बैठकमा नेताहरूले नयाँ प्रस्तावित विधानमा ७० वर्षीय उमेर हद र अध्यक्षमा दुइकार्यकाल हटाइको प्रावधानलाई समर्थन गरेका छन् । केही नेताहरुले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका ब्यक्तिलाई राजनीतिबाट सधैका लागि निवृत्त हुने संवैधानिक ब्यवस्था गरेर जाने प्रबन्ध गर्न समेत नेतृत्वलाई सुझाव दिएका छन् ।
बैठकमा केही नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै अध्यक्ष पद छोड्नसमेत सुझाव दिएका छन् । बैठकमा अहिलेसम्म १ सय १० जना नेताले आफ्ना धारणा राखिसकेका छन् । हिजोको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।
एमालेको पहिलो विधान महाधिवेशनबाट १९ पदाधिकारीसहित ३ सय ९७ जना केन्द्रीय सदस्यको व्यवस्था गरिएको थियो भने नयाँ प्रस्तावित विधानमा १५ जनापदाधिकारीसहित २ सय ५१ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदालाई आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीमा हुने विधान महाधिवेशनमा पेस गरिने छ ।