काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व मनाउँदै

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व मनाउँदै

काठमाडौं । आज श्रावण कृष्ण चतुर्दशी काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व मनाउने गर्छन् । गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । यो समुदायले आज घर सफा गरेर भूत फाल्ने गर्छन् ।

उपत्यकाको चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमंगल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । 

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। स्थान एवं कुल परम्पराअनुसार कतै भने गठेमंगललाई खोला वा नदी किनारमा लगी जलाइन्छ । 

गोपाल वंशावलीअनुसार गठेमंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.