पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने बाटो औपचारिक रूपमा बन्द

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने बाटो औपचारिक रूपमा बन्द

काठमाडौै ।  नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा फर्कने बाटोलाई औपचारिक रूपमा बन्द गरिदिएको छ। सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणालाई कमिटीको बहुमतले अस्वीकार गरेको हो।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा गएराति मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कन नहुने बताउनुभयो । हिजो बिहान ११ बजे सुरू भएको बैठक मध्यरातसम्म गर्दा करिब १२ घन्टा चलेको थियो। बैठकले अन्ततः भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाएको हो। बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीलाई पूर्व राष्ट्रपतिको हैसियतमा उच्च सम्मान दिने र उहाँ राजनीतिमा आउन नहुने निर्णय गरेको जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन नदिने निर्णयमा पार्टी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने असहमति जनाउनुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा भण्डारीको पार्टी सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको पनि बताउनु भएको थियो । ओलीले भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गरेको प्रसंग निकाल्दै राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्ने र पार्टीले पनि सम्मान गर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.