काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरूलाई दृढका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गर्नुभएको हो ।
पछिल्लो समय कांग्रेसको बारेमा पार्टीले भन्दा पहिले अरूले टिप्पणी गर्ने गरेको भन्दै पार्टीको महत्व र आवश्यकताबारे आफैंले भन्नुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार र पहिचानको रक्षा गर्ने प्रमुख शक्ति नै नेपाली कांग्रेस रहेको दाबी गर्नुभयो ।
उहाँले आदिवासी जनजातिको मुद्दामा कांग्रेसबाहेक अरू कुनैपनि पार्टी इमादार नरहेको उहाँको टिप्पणी छ । महामन्त्री थापाले आउँदो असोजसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने समेत बताउनु भयो । आउँदो मसिंरदेखि नयाँ सदस्यता वितरण गर्नेगरी काम भइरहेको उहाँको भनाइ छ ।