काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गर्नुभयो ।
अहिलेको सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप उहाँले लगाउनु भयो । उहाँले वर्तमान सरकार सुशासनको विरूद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताउनु भयो ।
जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने उहाँकाे भनाइ छ ।
अध्यक्ष दाहालले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरूविरूद्ध सफलता हात पार्नसक्ने बताउनु भयो । आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरित गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी उहाँले दिनुभयो ।