संविधान संशोधनका लागि संवाद गर्न कार्यदल बनाउने कांग्रेस केन्द्रीय समितिको निर्णय

दुई ठूला दलबीचको गठबन्धन सरकार पूरै अवधि चल्ने सभापति देउवाको दाबी
असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधनका लागि संवाद गर्न कार्यदल बनाउने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि दृढ रहेको जनाएको छ । असार १६ गते सुरू भएर आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि पार्टी इमान्दार रहेको भन्दै संवाद गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा संविधानमा आवश्यक संशोधन गरी कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उल्लेख गरिएको थियो । 

संविधानको रक्षा एवं कार्यान्वयनको प्रमुख दायित्व र जिम्मेवारी आफूहरूको भएको भन्ने विषयमा कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध रहेको बैठकको निर्णयमा भनिएको छ । संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ । कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने बताइएको छ ।

यसैबीच एक सातासम्म चलेको बैठकमा सबै केन्द्रीय सदस्य र पदाधिकारीहरूले बोलिसकेपछि सभापति शेरबहादुर देउवाले बैठकको समापन गर्दै कांग्रेस एमाले गठबन्धनमा तलमाथि नहुने बताउनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताकाबीच सरकारको आयुलाई लिएर विभिन्न टीकाटिप्पणी चलिरहेकै बेला मुख्य सत्ता सहयात्री पार्टीका सभापति देउवाले सरकार पूरै अवधि जाने दाबी गर्नुभएको हो ।

देउवाले दुई ठूला पार्टीका समस्याहरूलाई ठूला ठान्न नहुने समेत बताउनुभयो । देउवाले अब संविधान संशोधनको प्रक्रिया अघि बढ्नेसमेत जानकारी दिनुभयो । सदस्य र पदाधिकारीहरूले उठाएका अरू विषय र मुद्दाका बारेमा भने सभापतिले जवाफ दिनु भएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.