काठमाडौं । सांसदहरुले निजामती विधेयकमा भएको जालसाजीको संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।
राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले कुलिङ अफ पिरियडबारे भएको छेडखानी लज्जाको विषय भएकाले संसदीय छानबिन गर्नुपर्ने माग गरेका हुन् । सांसदहरुले यस विषयमा जिम्मेवार समिति सभापति र सचिवले राजीनामा दिनुपर्नेसमेत माग गरेका छन् । सांसद पदम गिरीले समितिले पारित गरेको विषयको दुरुस्त प्रतिवेदन बनाउने काम सभापति र सचिवको भएकाले अमुक खरिदार र सुब्बालाई दोष लगाएर उन्मुक्ति पाउने काम गर्न नहुने बताउनुभयो ।
यस्तै, सांसद हृदयराम थानीले विधेयकमा भएको छेडखानी सानाको खेलो नभई ठूला ठूलाको विषय भएकाले शक्तिशाली संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्नुभयो । सांसद दुर्गा राईले कुलिङ अफ पिरियडमा भएको परिवर्तन षडयन्त्र भएकाले छानबिन हुनुपर्ने माग गर्नुभयो । संसदीय छानबिनले मात्र संसदको मर्यादा कायम गर्ने उहा“को भनाइ छ ।
सांसद प्रकाश अधिकारीले यो घटना लज्जास्पद भएको भन्दै विधेयक फेरबदलका विषयमा छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । सांसद राजेन्द्र पाण्डेले यो घटनामा त्रुटि भएको हो कि अपराधपूर्ण काम हो भन्नेबारे छानबिन जरुरी रहेको बताउनुभयो । सांसद हितराज पाण्डेले समितिबाट पारित गरेअनुसार संसद्बाट पास हुन नसकेकोमा नेपाली जनतास“ग क्षमा माग्नुभयो ।